हेटौंडामा ट्रामाडोल क्याप्सुलसहित ५ जना पक्राउ

हेटौंडामा ट्रामाडोल क्याप्सुलसहित ५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – मकवानपुर प्रहरीले ठूलो परिमाणको लागूपदार्थसहित ५ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका–५ सानोपोखराबाट प्रतिबन्धित लागूपदार्थ ट्रामाडोल ८३०० पिस क्याप्सुलसहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार बिहीबार बिहान करीब १० बजे सानोपोखरामा लागूपदार्थको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो ।

सो क्रममा उक्त स्थानमा बसिरहेका ५ जनालाई फेला पारिएको र उनीहरूको साथबाट ठूलो परिमाणमा ट्रामाडोल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा मकवानपुरको बकैया गाउँपालिका–१२ का १९ वर्षीय अशोक स्याङ्तान, हेटौंडा–१७ का २० वर्षीय प्रवेश बरैली, हेटौंडा–४ का २० वर्षीय निशान कोइराला, हेटौंडा–२ का ३५ वर्षीय बक्सर भन्ने राजिव लामा र मकवानपुरगढी गाउँपालिका–२ का २३ वर्षीय दिपेश संजेल छन् ।

प्रहरीले उनीहरूलाई रितपूर्वक खानतलासी गर्दा बिक्री वितरणका लागि लुकाइछिपाइ राखिएको अवस्थामा ट्रामाडोल ८३०० पिस बरामद गरेको जनाएको छ । साथै उनीहरूबाट ना३२प ३२४४ र बा प्रदेश ००५ प १८५ नम्बरका २ वटा मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाँचै जनामाथि लागूपदार्थ (नियन्त्रण) ऐनअन्तर्गत मुद्दा दर्ता गरी मकवानपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।