जग्गा लिज प्रकरणमा नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ

जग्गा लिज प्रकरणमा नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

राजधानी काठमाण्डुको हात्तिवन क्षेत्रबाट कार्कीलाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले जानकारी दिए ।

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा थामसेर्कु ट्रेकिङलाई लिजमा दिँदा त्रुटिपूर्ण निर्णय गरेको आरोपमा उनी पक्राउ परेका हुन् । यसअघि मुद्दामा ट्रस्टका पूर्व सहसचिव लेखबहादुर कार्कीलाई पनि कात्तिक २१ गते चितवनबाट पक्राउ गरी अनुसन्धान थालिएको थियो ।

सीआईबीका अनुसार करार सम्झौता प्रक्रियामा सूचनामा उल्लेख गरिएकोभन्दा बढी जग्गा लिजमा दिएको प्रमाण भेटिएको छ । सूचनाअनुसार कित्ता नम्बर ४६०६ मात्रै लिजमा दिनुपर्ने भए पनि सम्झौतामा कित्ता नम्बर ४६०५ समेत थपिएको पाइएको छ ।

थामसेर्कुलाई कुल ३० वर्षका लागि (३ वर्ष निर्माण अवधिसहित) जग्गा लिजमा दिइएको एसएसपी श्रेष्ठले बताए । सीआईबीले दुवैमाथि जग्गा लिज प्रकरणमा थप अनुसन्धान अघि बढाइरहेको छ ।