अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ परेका छन् ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ वनकुरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम ९४० मिलिग्रामसहित भीमदत्त नगरपालिका–१८ भगतपुर बस्ने २९ वर्षीय अशोक चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७९० मिलिग्रामसहित बाँकेको कोहलपुर नगरपालिका–३ मैटहवा बस्ने ३८ वर्षीय किसकुमार थारूलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले भारतको बलई गाउँबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन पदार्थ ११० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–८ कामने घर भएका २७ वर्षीय अमिर प्रधान र मकवानपुरगढी गाउँपालिका–२ शिखरकटेरी घर भएकी १९ वर्षीया इन्सुमा गोले रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले अमिरको कोठा तलासी गर्दा लागूपदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।

झापाको कचनकवल गाउँपालिका–४ फर्कागाछीबाट अवैध लागूऔषध ब्राउनसुगर करीब १ ग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका–२ आदर्श टोल बस्ने ४० वर्षीय कुमार गन्धर्व र ३० वर्षीय बिशाल गाइने रहेका छन् । इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरी टोलीले भारतको कादो गाउँबाट सुकुनाडिगितर्फ पैदल आउँदै गरेका उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन ४४० मिलिग्रामसहित भक्तपुरको चाँगुनारायण नगरपालिका–८ बस्ने २४ वर्षीय सुशिल सापकोटालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

लागूपदार्थ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।