काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डुको टोखा नगरपालिका–९ गोंगबुस्थित होटल ग्रिन प्यालेसबाट अवैध लागूऔषध खैरो हेरोइन ८०० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा होटल सञ्चालक नुवाकोट पञ्चकन्या गाउँपालिका–५ घर भएका २४ वर्षीय सन्तोष श्रेष्ठ र काठमाण्डु तारकेश्वर नगरपालिका–४ लोलाङ बस्ने नुवाकोट किस्पाङ गाउँपालिका घर भएका २४ वर्षीय भीम कुमार तामाङ रहेका छन् । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले होटलको २०४ नम्बरको कोठा तलासी गर्दा लागूपदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।
मोरङको विराटनगर महानगरपालिका–१७ मटेरूवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ४६ ग्राम ६७० मिलिग्रामसहित विराटनगर महानगरपालिका–१३ बस्ने २७ वर्षीय रोजन राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–२० भञ्ज्याङबाट अवैध लागूऔषध गाँजा करीब ५० किलोग्रामसहित ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी नगरपालिका–९ बस्ने खडग बहादुर मगराती, २८ वर्षीय प्रशासन राई, २४ वर्षीय भुमिराज विक तथा १८ वर्षीय र १७ वर्षीय २ जना किशोर रहेका छन् । अस्थायी प्रहरी चौकी बिष्णुपादुकाबाट खटिएको प्रहरीले को१झ २१७८ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा गाँजा फेला पारी चालक खडग बहादुर समेत ५ जनालाई पक्राउ गरेको छ ।
लागूपदार्थ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया