काठमाण्डु – काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले चेक अनादर विगो मुद्दाका फरार प्रतिवादी शोभन शम्शेर जबरालाई पक्राउ गरेको छ ।
७७ वर्षीय जवरालाई बुधबार बिहान ११:३० बजे काठमाडौँ महानगरपालिका–१ दरबारमार्गबाट नियन्त्रणमा लिइएको छ ।
वादी नीरा थापा र प्रतिवादी शोभन शम्शेर जबरा रहेको चेक अनादर मुद्दामा काठमाण्डु जिल्ला अदालतले २०७९ पुस १७ गते फैसला सुनाएको थियो । फैसलाले १० लाख रुपैयाँ बिगो र सोको ब्याजबापत सजाय तोकेको थियो ।
अदालतको मिति २०८१ पुस ०५ गतेको आदेशानुसार विगोबापत निज प्रतिवादीलाई २ वर्ष कैद सजाय भुक्तानका लागि पक्राउ पुर्जी जारी गरिएको थियो । पुर्जी जारी भएदेखि नै उनी फरार रहँदै आएका थिए ।
पक्राउ परेका जवरालाई फैसला कार्यान्वयनका लागि सोही दिन काठमाण्डु जिल्ला अदालत बबरमहल पठाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।




प्रतिक्रिया