काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाण्डुको चन्द्रागिरी नगरपालिका–४ बस्ने ३७ वर्षीया ममता श्रेष्ठ, ललितपुरको गोदावरी नगरपालिका–१४ बस्ने काभ्रेको पाँचखाल नगरपालिका–६ घर भएका ३० वर्षीय सरोज पोख्रेल र काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–८ बस्ने दोलखाको भिमेश्वर नगरपालिका–७ घर भएका ४९ वर्षीय डम्बर बहादुर तामाङ रहेका छन् ।
पक्राउ परेकामध्ये ममताले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २३ लाख रूपैयाँ, सरोजले यूएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ६४ हजार रूपैयाँ र डम्बर बहादुले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले ममतालाई चन्द्रागिरी नगरपालिका–४ बाट र सरोजलाई गोदावरी नगरपालिका–१४ बाट बिहीबार तथा डम्बर बहादुरलाई गोकर्णश्वर नगरपालिका–९ बाट शुक्रबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।




प्रतिक्रिया