काठमाण्डु – बुढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित गरुड क्यासिनोभित्र नेपाली नागरिकहरूलाई गैरकानुनी रूपमा जुवा खेलाउने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्यासिनो प्रशासनले नेपाली नागरिकहरूबाट नगद डिपोजिट लिई सोबापत जुवा खेल्न प्रयोग हुने विभिन्न दरका चिप्सहरू उपलब्ध गराएर हारजीत हुने गरी खेल खेलाइरहेको अवस्थामा प्रहरीले छापा मारेको हो ।
पक्राउ पर्नेमा ६५ वर्षीय वृद्धदेखि २४ वर्षीय युवासम्म प्रहरीले सो कार्यमा संलग्न रहेको आरोपमा ५ जनालाई घटनास्थलबाटै पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको मेलम्ची–९ घर भई हाल बाँसबारी बस्ने ६५ वर्षीय पशुपति खड्का, महोत्तरीको बर्दिबास–८ घर भई हाल गोकर्णेश्वर–६ बस्ने ४६ वर्षीय दयाराम राना र काठमाण्डु महानगरपालिका–६ बौद्ध बस्ने ५३ वर्षीय भरतराज पौडेल रहेका छन् । दोलखाको मेलुङ–२ घर भई हाल बुढानीलकण्ठ–१ बस्ने ४० वर्षीय सन्तोष भण्डारी र खोटाङको खोटेहाङ–७ घर भई हाल बसुन्धारा बस्ने २४ वर्षीय गणेश बहादुर मगरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
बरामद दसीका सामानहरू प्रहरीले घटनास्थलबाट जुवा खेल्न प्रयोग गरिने ‘गरुड क्यासिनो’ लेखिएका विभिन्न रङ्ग र दरका चिप्सहरू बरामद गरेको छ । बरामद दसीका सामानहरूमा सुन्तला रङ्गका १० थान चिप्स, १० हजार ‘क्यास’ लेखिएका ३ थान पहेंला चिप्स, १ हजार ‘क्यास’ लेखिएका ४ थान राता चिप्स र १ थान नीलो चिप्स रहेका छन् ।
कानूनी प्रक्रिया र म्याद थप नेपाली नागरिकलाई क्यासिनो प्रवेश र जुवा खेल्न निषेध गरिएको कानूनी प्रावधान विपरीत कार्य गरेको भन्दै उनीहरूविरुद्ध ‘जुवा खेल्न वा खेलाउन नहुने’ कसूर अन्तर्गत मुद्दा चलाइएको छ । पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रशासन कार्यालय काठमाण्डुबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया