अख्तियार प्रमुखसहित उच्च पदस्थलाई धम्क्याउने पाठक फिलिपिन्सबाट पक्राउ

अख्तियार प्रमुखसहित उच्च पदस्थलाई धम्क्याउने पाठक फिलिपिन्सबाट पक्राउ

प्रतिकात्मक तस्वीर

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्च पदस्थ व्यक्तित्वहरूलाई धम्क्याएको आरोपमा फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनले १ जनालाई पक्राउ गरेको छ ।

नेपालका उच्च पदस्थ अधिकारीहरूलाई धम्की दिएको र आपराधिक षड्यन्त्रमा संलग्न रहेको आरोपमा फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनले नेपाली युवालाई पक्राउ गरेको छ ।

फिलिपिन्स प्रहरीका अनुसार ३३ वर्षीय नेपाली नागरिक प्रकाश पाठकलाई डिसेम्बर ३१ का दिन मालोलोस शहरको बाराङ्गे क्याटमोनस्थित पासेओ डे कंग्रेसोबाट नियन्त्रणमा लिइएको छ । काभ्रेको तेमाल गाउँपालिका–१ स्थायी घर भएका पाठकविरुद्ध काठमाण्डु जिल्ला अदालतले १ महिनाअघि नै फौजदारी कसूरमा पक्राउ पुर्जी जारी गरिसकेको थियो भने गत मंसिर २६ गते उनीविरुद्ध जबरजस्ती असुली र आपराधिक षड्यन्त्रको अभियोगमा इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ समेत जारी गरिएको थियो ।

फिलिपिन्सको अध्यागमन विभागका अनुसार पाठक विदेशमा रहेर गम्भीर सुरक्षा चुनौती पैदा गर्ने गतिविधिहरूमा समेत संलग्न रहेको पाइएको छ । उनले फरार रहेका कैदीहरूलाई आत्मसमर्पण नगर्न उक्साएको, उनीहरूलाई आर्थिक सहयोग र हतियारको प्रलोभन देखाएको तथा एक उच्च पदस्थ विदेशी सरकारी अधिकारीको हत्याको षड्यन्त्रमा समेत जोडिएको आरोप छ ।