अध्ययनका लागि यूएई पठाउँदा करोडौं ठगी, ५ कन्सल्टेन्सी सञ्चालक पक्राउ

अध्ययनका लागि यूएई पठाउँदा करोडौं ठगी, ५ कन्सल्टेन्सी सञ्चालक पक्राउ


काठमाण्डु – वैदेशिक अध्ययनका लागि यूएई पठाइदिने प्रलोभन देखाएर विद्यार्थीहरूबाट रकम असुल गरी ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

सञ्चालकहरूले फ्रान्स र अष्ट्रेलियाका विश्वविद्यालयबाट मान्यता प्राप्त कलेजहरूमा ‘क्रेडिट ट्रान्सफर’ हुने भन्दै विद्यार्थीहरूलाई झुक्याएको अनुसन्धानबाट खुलेको छ ।

ठगीको शैली र रकम पक्राउ परेका सञ्चालकहरूले यूएईको उच्च शिक्षा मन्त्रालयबाट स्वीकृत समेत नलिएका सामान्य ट्रेनिङ इन्स्टिच्युटहरूमा विद्यार्थी पठाउने गरेको पाइएको छ । उनीहरूले प्रतिविद्यार्थी ८ लाखदेखि २२ लाख रुपैयाँसम्म असुल गरेको प्रहरीले जनाएको छ ।

हालसम्म १३ जना पीडितहरूले दिएको जाहेरीका आधारमा काठमाण्डु जिल्ला अदालतबाट पक्राउ अनुमति लिई उनीहरूलाई समातिएको छ ।

पक्राउ पर्ने सञ्चालकहरूमा बेस्ट पाथ एजुकेसन नुवाकोटका सञ्चालक २९ वर्षीय कृष्ण थापा, मर्सी एजुकेसन कन्सल्टेन्सी कपिलवस्तुका सञ्चालक रामचन्द्र टन्डन, सिटीहब एजुकेसन नेटवर्क काठमाण्डुका सञ्चालक ३१ वर्षीय सुवाश सिलवाल क्षेत्री, कान्तिपुर अब्रोड कन्सल्टेन्ट दार्चुलाका सञ्चालक ४८ वर्षीय हेमराज भट्ट र कान्तिपुर अब्रोड कन्सल्टेन्ट सिन्धुपाल्चोकका सञ्चालक ४८ वर्षीय दामोदर ढकाल रहेका छन् ।

पक्राउ परेका सबैमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम ठगी सम्बन्धी कसूरमा मुद्दा चलाउन थप अनुसन्धान भइरहेको छ । प्रहरीले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई कन्सल्टेन्सीको आधिकारिकता र सम्बन्धित देशको शैक्षिक संस्थाको मान्यता राम्ररी बुझेर मात्र प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।