बचतकर्ताको १२ करोड ठगेर फरार भएका सहकारी सञ्चालकसहित तीन जना पक्राउ

बचतकर्ताको १२ करोड ठगेर फरार भएका सहकारी सञ्चालकसहित तीन जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- विराटनगर महानगरपालिका–२ स्थित तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम ठगी भएको घटनामा संलग्न उक्त सहकारी संस्थाका क्षेत्रीय प्रबन्धकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा क्षेत्रीय प्रबन्धक विराटनगर महानगरपालिका–२ बस्ने मन्दिप खवास, संस्थाकी उपाध्यक्ष उर्लाबारी नगरपालिका–६ घर भएकी अनिता गौतम र संस्थाकी सचिव झापा भद्रपुर नगरपालिका–१४ घर भई हाल विराटनगर महानगरपालिका–३ बस्ने सविना न्यौपाने रहेका छन्।

२०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय विराटनगर महानगरपालिका–२ मा रहेको र यही फागुन १ गतेदेखि सेयर सदस्यहरुलाई कुनै जानकारी नदिइ कार्यालय बन्द गरी ठगी गरेको भनि सेयर सदस्यहरुले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।

उक्त संस्थाले बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत र साधारण बचत लगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको सेयर सदस्य हुँदा १५ प्रतिशतभन्दा बढी ब्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा पारी बचत गर्न लगाउने गरेको थियो।

आफ्नो तथा बालबच्चासहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठूलो रकम बचत गर्दै आएकोमा फागुन १ गतेदेखि कार्यालय बन्द गरी सञ्चालक समितिका सबै पदाधिकारीहरू सम्पर्कविहीन भएका थिए।

सञ्चालकहरु नै फरार भएपछि आफूहरु ठगीमा परेको भन्दै फागुन २८ गते केही बचतकर्ताहरुले १२ करोड ९ लाख ४ हजार ४ सय ८७ रूपैयाँ बराबरको रकम ठगी भएको भनेर संस्थामा कार्यरत ८ जनाविरुद्ध जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। घटनामा संलग्न अन्य ५ जनाको खोजी जारी राखिएको छ। साथै उस प्रकरणमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।