घरभित्र घुसेर दिउँसै चोरी गर्ने ‘सिरियल चोर’ पक्राउ

घरभित्र घुसेर दिउँसै चोरी गर्ने ‘सिरियल चोर’ पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डुका विभिन्न स्थानमा दिउँसोको समयमा घर फोरेर चोरी गर्ने कार्यमा संलग्न कुख्यात व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाण्डुका घरहरूमा कोही नभएको मौका पारी नगद तथा सुनचाँदीका गरगहना चोरी भएको उजुरीका आधारमा खोजतलास गरिरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले अभियुक्तलाई पक्राउ गरेको हो ।

प्रहरीमाथि नै आक्रमणको प्रयास माघ २१ गते राति करीब ११:२५ बजे नागार्जुन नगरपालिका–६ पुरी गाउँस्थित सडक खण्डमा शंकास्पद अवस्थामा फेला परेका ती व्यक्तिले चेकजाँचका क्रममा प्रहरीमाथि नै आक्रमण गरेका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिन सफल भएको छ ।

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–३ घर भई हाल काठमाण्डुको सीतापाइला बस्ने ४१ वर्षीय प्रेम थारू (सुप्रिम विकास र सौरभ चौधरीका नामले समेत चिनिने) रहेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा थारूले ८८ तोला सुन, ९९ तोला चाँदी, २ तोला हीरा (डाइमण्ड) र विभिन्न देशका मुद्राहरू चोरी गरेको खुलेको छ। हालसम्म ९ जना पीडितहरू प्रहरीको सम्पर्कमा आएका छन् भने कुल ३ करोड ६ लाख १४ हजार २०० रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।

पक्राउ परेका थारू पुरानै पेसेवर चोर भएको प्रहरी अभिलेखले देखाएको छ । उनी २०७९ मंसिर २९ गते प्रहरी वृत्त बौद्धबाट २ वटा चोरी मुद्दामा पक्राउ परी कारागार चलान भएका थिए । ३ वर्षको कैद भुक्तान गरेर निस्किएपछि उनी पुन: चोरी धन्दामै सक्रिय भएको पाइएको छ ।

प्रहरीले थारूको साथबाट ठूलो परिमाणमा धनमाल बरामद गरेको छ । सुन ७६४.३५ ग्राम, चाँदी ११५९.२६ ग्राम, हीरा १५.२६ ग्राम, १ लाख ६३ हजार ६५५ रुपैयाँ, अमेरिकी डलर (११०४), भारतीय रुपैयाँ (५५००), चिनियाँ युआन (८२), ओमान रियाल (१००), जापानी येन, कतारी रियाल, साउदी रियाल, हङकङ डलर, थाई भाट लगायतका विभिन्न १३ देशका मुद्रा बरामद गरिएको छ ।

पक्राउ परेका थारूमाथि जिल्ला प्रहरी परिसर काठमाण्डुले थप अनुसन्धान गरिरहेको जनाएको छ ।