काठमाण्डु – विभिन्न कारागारबाट भाद्र २४ गते फरार भएका ७ जना कैदीबन्दीलाई प्रहरीले पुन: पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डु र मातहतका प्रहरी कार्यालयहरूले संयुक्त रूपमा सञ्चालन गरेको खोजतलास अभियानका क्रममा नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागार कार्यालयमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फरार हुनेहरूमा डाँका चोरी मुद्दामा कैद भुक्तान गरिरहेका ४१ वर्षीय तेन्जिङ बहादुर तामाङ, चोरी मुद्दामा सजाय काटिरहेका २० वर्षीय प्रितम गुरुङ, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कैद सजाय भोगिरहेकी २३ वर्षीया बविता तामाङ, नकबजनी चोरी मुद्दाका २२ वर्षीय विक्रम नेपाली, लागूऔषध मुद्दाका २७ वर्षीय भुवन तामाङ र २६ वर्षीय रोसन साह तथा ज्यान मार्ने उद्योग मुद्दाका २० वर्षीय अनिस मगर रहेका छन् ।
उनीहरू फरार भएलगत्तै प्रहरीले विशेष टोली परिचालन गरी सम्भावित स्थानहरूमा निगरानी बढाएको थियो । सूचनाका आधारमा काठमाण्डु उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । फरार प्रकरणबारे थप अनुसन्धान जारी रहेको र कारागार सुरक्षालाई थप कडा बनाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया