काठमाण्डु – राजधानी काठमाण्डुको मुख्य नाका नागढुङ्गामा शुक्रबार गरिएको विशेष जाँचका क्रममा लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरूमा सार्वजनिक यातायातका चालकहरूको संख्या उल्लेख्य रहेको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका चालकहरूमध्ये ३ जना हाइस चालक, २ जना बस चालक, १ जना ट्रक चालक र १ जना पिकअप भ्यान चालक रहेका छन् । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।
काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार लापसे पुष्टि भएका सातै जना चालकलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।
यात्रु बोक्ने जस्तो संवेदनशील सवारीसाधनका चालकले नै लागूपदार्थ सेवन गर्नु गम्भीर र दण्डनीय अपराध भएको प्रहरीले जनाएको छ । यस्तो कार्यले चालकको मात्र नभई निर्दोष यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुनाले प्रहरीले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
आफू सवार सवारीसाधनका चालकले लागूपदार्थ वा मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्काल सम्पर्क गर्न यात्रुहरूलाई अनुरोध गरिएको छ ।
प्रहरीले सवारी चलाउँदा जिम्मेवार बन्न र नियमको पूर्ण पालना गर्न सबै चालकहरूलाई सचेत समेत गराएको छ ।




प्रतिक्रिया