अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने महिला पक्राउ

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने महिला पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ ।

काठमाण्डु महानगरपालिका–३२ की ५५ वर्षीया मिना घिमिरेलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकी घिमिरेले पीडित युवालाई अष्ट्रेलियामा आकर्षक तलब हुने रोजगारी मिलाइदिने भन्दै विश्वासमा पारेकी थिइन् । उनले प्रक्रियाका लागि भन्दै पटक–पटक गरी कुल १२ लाख रुपैयाँ रकम असुल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

रकम बुझेपछि लामो समयसम्म न त विदेश पठाइन्, न त पीडितको सम्पर्कमा नै रहिन् । आफू ठगिएको महसूस गरेपछि पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले घिमिरेको खोजी सुरु गरेको थियो ।

अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई चैत ३ गते काठमाण्डु महानगरपालिका–१४ बाट नियन्त्रणमा लिएको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (प्रहरी उपरीक्षक) मनोहरप्रसाद भट्टका अनुसार पक्राउ परेकी घिमिरेलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रहरीले वैदेशिक रोजगारीमा जाँदा आधिकारिक माध्यमबाट मात्र प्रक्रिया अगाडि बढाउन र अपरिचित व्यक्तिलाई ठूलो रकम नबुझाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।