वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाण्डुको कीर्तिपुर नगरपालिका–७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, ललितपुरको महालक्ष्मी नगरपालिका–७ बस्ने सर्लाही घर भएका ४६ वर्षीय डिल्ली राम भुजेल, काठमाण्डु महानगरपालिका–१६ बस्ने ४३ वर्षीया उमा गुरूङ, ललितपुर महानगरपालिका–७ बस्ने कास्की घर भएका ३३ वर्षीय आशिष महत र भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ बस्ने रामेछाप घर भएकी ३५ वर्षीया संगिता श्रेष्ठ रहेका छन् ।  

पक्राउमध्ये अर्जुनले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रूपैयाँ, डिल्लीले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९९ हजार रूपैयाँ, उमाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ,  आशिषले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २३ लाख रूपैयाँ र संगिताले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ६८ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उमा र संगितालाई काठमाण्डु महानगरपालिका–१२ बाट तथा आशिषलाई काठमाण्डु महानगरपालिका–१० बाट आईतबार पक्राउ गरेको हो ।

अर्जुनलाई काठमाण्डु महानगरपालिका–४ बाट र डिल्लीलाई काठमाण्डु महानगरपालिका–९ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।