मोटरसाइकल चोरीमा संलग्न १ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

मोटरसाइकल चोरीमा संलग्न १ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिका–१६ बाईपासबाट सोमबार चोरीको मोटरसाइकलसहित १ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउनेमा नुवाकोटको ककनी गाउँपालिका–१ घर भई हाल काठमाण्डुको लोलाङ बस्ने २० वर्षीय निखिल बलामी रहेका छन् ।

बागमती प्रदेश ०२–०२८ प ८४०८ नम्बरको मोटरसाइकल नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३९ प ९४५४ नम्बर राखी चलाइरहेको अवस्थामा बाईपास सडकखण्डमा फेला पारी बलामीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल ललितपुरको गोदावरी नगरपालिका १० बोहोराटार बस्ने जयराम केसीले बोहोराटारबाट हराएको भनी खोजतलासका लागि काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । मोटरसाइकलसहित नियन्त्रणमा आएका बलामीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त चापागाउँ पठाइएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक सुवेदीले सम्पूर्णमा अनुरोध गरेका छन् ।

हराएका सवारीसाधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए तापनि सवारीधनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न अनुरोध गरिएको छ ।

सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारीसाधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जनाइएको छ ।