काठमाण्डु – बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले काठमाण्डुको टोखाबाट पक्राउ गरेको छ ।
ललितपुर जिल्ला अदालतबाट सजाय सुनाइएका रौतहटको श्रीपुर घर भई हाल टोखा बस्ने २१ वर्षीय श्यामकिशोर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रतिवादी चौधरीविरुद्ध नेपाल सरकार वादी रहेको बैंकिङ कसूर मुद्दामा ललितपुर जिल्ला अदालतले २०८० चैत १ गते फैसला सुनाएको थियो ।
फैसला अनुसार उनलाई २५ लाख रुपैयाँ बिगो, १७ लाख ८५ हजार ६०० रुपैयाँ जरिवाना, १ लाख रुपैयाँ (पीडित राहत कोषमा जम्मा गर्नुपर्ने) क्षतिपूर्ति ठहर गरिएको थियो ।
अदालतको फैसलापछि फरार रहेका चौधरीलाई खोजतलास गर्ने क्रममा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले मंगलबार दिउँसो १२:३० बजे टोखा नगरपालिका–५ सिद्धिटोलबाट फेला पारेको हो ।
पक्राउ परेका चौधरीलाई फैसला कार्यान्वयनका लागि मंगलबार नै ललितपुर जिल्ला अदालत लगनखेलमा उपस्थित गराइएको प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।
पछिल्लो समय प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीहरूको खोजी कार्य र फैसला कार्यान्वयनलाई तीव्रता दिँदै आएको छ ।




प्रतिक्रिया