काठमाण्डु – जिल्ला अदालत काठमाण्डुको लेटरप्याड, न्यायाधीशको दस्तखत कीर्ते गरी मुद्दा खोल्ने र पुन: प्रमाणीकरणसम्बन्धी सूचना नै नक्कली बनाएको भेटिएपछि एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् ।
गोरखाको आरुघाट गाउँपालिका–७ घर भई हाल काठमाण्डुको टोखा बस्ने २६ वर्षीय विवस अधिकारीले यसरी कीर्ते गरेको अदालतबाट प्राप्त सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।
सीआईबीका सहप्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र खड्काले विवश अधिकारी भन्ने नामबाट २०८२ चैत १५ गते अदालतको लेटरप्याड र अधिकारीहरू मुद्दा खोल्ने तथा पुन:प्रमाणीकरणसम्बन्धी सूचना बनाइ मुद्दाको अन्तिम निर्णय भएपछि विवश अधिकारीको बैंकमा २ करोड १३ लाख रकमान्तरण हुने विवरण बनाइ कीर्ते गरेका पाइएको बताए ।
उनले सोही साल चैत २४ गते सेवा शुल्क भुक्तानीसम्बन्धी झुठ्ठा लिखत तयार गरी विवस अधिकारीलाई अदालतबाट १ लाख ६ हजार सेवा शुल्क बुझाउन आदेश दिएको भनी अदालतबाट नगरिने अस्वाभाविक व्यहोरा उल्लेख गरी कागजात तयार पारेका पाइएको प्रहरीले जनाएको छ ।
यसरी कागजात तयार पार्न काठमाण्डु जिल्ला अदालतको लेटरप्याड कीर्ते बनाइ न्यायाधीश, श्रेस्तेदार, शाखा अधिकृतको दस्तखत र अदालतको छापसमेत कीर्ते गरी प्रचलनमा ल्याएको पाइएको छ ।
उक्त कसुरमा संलग्न विवस अधिकारीलाई छानबिन गरी कानुन बमोजिम कारबाही गरी पाउँ भन्ने व्यहोराको अदालतका कर्मचारीको निवेदनका आधारमा उनलाई काठमाण्डुको सतुङ्गलबाट पक्राउ गरिएको सहप्रवक्ता खड्काले बताए ।
अनुसन्धानको क्रममा उनको डेरा कोठामा खानतलासी गर्दा कीर्ते कागजपत्रहरू फेला परेकोले मंगलबार काठमाण्डु जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया