प्रमाणपत्र विनै चिकित्सक बनेर उपचार गरेको आरोपमा १ महिला पक्राउ

प्रमाणपत्र विनै चिकित्सक बनेर उपचार गरेको आरोपमा १ महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चिकित्सकको उपाधि तथा नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्रबिनै बिरामीको उपचारमा संलग्न रहेको आरोपमा १ महिला पक्राउ परेकी छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार काठमाण्डुको चन्द्रागिरी नगरपालिका–८ स्थित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा कार्यरत ४७ वर्षीया चेतन एएम (पौडेल) लाई पक्राउ गरिएको हो ।

सीआईबीका अनुसार नेपाल मेडिकल काउन्सिलले नियमित अनुगमनका क्रममा चेतन एएम (पौडेल) ले आफूले प्राप्त नगरेको चिकित्सकको उपाधि प्रयोग गरेको तथा नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई बिरामीहरूको आधुनिक चिकित्सा पद्धतिअनुसार निदान र उपचारमा संलग्न रहेको फेला पारेको थियो । अनुगमनका क्रममा बिरामीलाई औषधि सिफारिस गरिएको प्रेस्क्रिप्सन समेत भेटिएको जनाइएको छ ।

नेपाल मेडिकल काउन्सिलले छानबिन प्रतिवेदनसहित आवश्यक कारबाहीका लागि सीआईबीमा उजुरी दिएपछि प्रारम्भिक अनुसन्धान अघि बढाइएको थियो । त्यसपछि काठमाण्डु जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबीको टोलीले असार ९ गते चन्द्रागिरीस्थित स्वास्थ्य संस्थाबाट उनलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउपछि काठमाण्डु जिल्ला अदालतबाट म्याद थप अनुमति लिई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत उपचार (इलाज) सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

नेपाल मेडिकल काउन्सिलले दर्ता प्रमाणपत्रबिनै चिकित्सा अभ्यास गर्नु कानुनविपरीत हुने भन्दै यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ ।