नक्कली भुटानी शरणार्थी प्रकरणः उच्च राजनीतिक र प्रशासनिक अधिकारीको संलग्नता, को-को पक्राउ परे ?


काठमाण्डु- नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म ९ जना पक्राउ परेका छन् । बिहीबारसम्म प्रहरीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा ९ जनालाई पक्राउ गरिसकेको छ ।

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा उच्च राजनीतिक र प्रशासनिक अधिकारीहरू मुछिएका छन्। नेताहरूसँगै उनीहरूका परिवारका सदस्य पनि यो प्रकरणमा मुछिएका हुन् ।

बुधबार जिल्ला प्रहरी परिसर काठमाण्डुले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई नियन्त्रणमा लिएको थियो । गृह सचिव भएका बेला ठगी गिरोहसँग साँठगाँठ गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै बुधबार नै पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पनि पक्राउ गरेको हाे । आज विहान मात्रै प्रहरीले पूर्वमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पनि पक्राउ गरेको छ । यस्तै मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई ललितपुरको सुनाकोठीबाट पक्राउ परेका थिए ।

प्रहरी स्रोतका अनुसार यसअघि पक्राउ परेका व्यक्तिहरूको बयानको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । त्यस्तै यो प्रकरणमा प्रहरीले यसअघि नै केशव दुलाललाई पनि पक्राउ गरेको थियो। उनी पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाका पूर्वस्वकीय सचिव हुन्। चैत १२ गते उनीसहित तीन जना पक्राउ परेका थिए । जसअनुसार पक्राउ पर्ने अन्यमा सानु भट्टराई र टंककुमार गुरूङ छन्।

चैत २९ गते यही घटनामा संलग्न रहेको आशंकामा सन्देश शर्मा र सागर राईलाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै पूर्वगृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । प्रतीकलाई पनि प्रहरीले प्रक्राउ गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement