श्रम कार्यालय ताहाचलबाट ३६ जना बिचौलिया पक्राउ

श्रम कार्यालय ताहाचलबाट ३६ जना बिचौलिया पक्राउ


काठमाडौं – प्रहरीले काठमाडौँबाट वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालयमा रहेका ३६ जना विचौलियालाई नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी परिसरको टोलीले बुधबार उनीहरुलाई कार्यालय आसपासबाटै पक्राउ गरेको हो ।

श्रम नबिकरण गरी विदेशिने युवाहरुसँग चर्को शुल्क असुल्ने गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हाे । बीमा र कल्याणकारी कोषका लागि लाग्ने शुल्कका अतिरिक्त अनलाइन भरेको शुल्कबापत भन्दै सात सय रुपयाँदेखि माथि लिने गरेका छन्। सोल्टीमोडको चोक देखिनै बिचौलिया सक्रिय हुन्छन् । म्यादी जीवन बीमाका लागि कार्यालय सञ्चालन गरिएका बीमा कम्पनीहरुका प्रत्येक शटरमा बिचौलियाले अड्डा जमाइरहेका हुन्छन् ।

सर्वसाधारणलाई काम गरिदिन्छु भनेर आवश्यकताभन्दा बढी रकम लिएको व्यापक गुनासो आएपछि प्रहरीले छापा मारेको थियो । ‘श्रम स्वीकृतिका लागि जाने सेवाग्राहीको काम अड्काएर आफूले तिर्नु पर्ने भन्दा धेरै रकम लिने गरेको बारे गुनासो आएपछि हामीले नियन्त्रणमा लिएका हौं’, परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले भने ‘आफैंले नियम अनुसार गर्छु भन्दा समेत कामै गर्न नसक्ने स्थिति रहेको पीडितहरुको गुनासो छ ।’  प्रहरीले पक्राउ परेकाहरुमाथि सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाउने तयारी गरेको छ ।