काठमाण्डु – कतार पठाइदिने प्रलोभनमा पारेर ५ लाख ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भई हाल काठमाण्डुको बौद्ध बस्ने ३१ वर्षीय भीमबहादुर तामाङलाई पक्राउ गरेको हो ।
उनले शुक्रबहादुर तामाङलाई वैदेशिक रोजगारीको लागि कतार जान २ लाख रुपैयाँ लाग्ने र कतार पुगेपछि प्रतिष्ठित कम्पनीमा काम गरेर मासिक १ लाख रुपैयाँ तलब हुने भनी विश्वास दिलाएर प्रलोभनमा पारी पटक–पटक गरी ५ लाख २५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका बताइएको छ ।
आरोपी तामाङलाई काठमाण्डुको गोकर्णेश्वर नगरपालिकाको माकलबारीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।




प्रतिक्रिया