काठमाण्डु – ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भई फरार रहेका धनुषाको औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासमान पक्राउ परेका छन् ।
एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको छ ।
पासमान लगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख रूपैयाँ अनाधिकृत रूपमा ट्रान्सफर गरी विभिन्न बैंकहरूको एटीएम कार्डहरूमार्फत निकालेर प्रयोग गरेको र अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो ।
अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।
आरोपी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया