काठमाण्डु – अवैध लागूऔषध गाँजा मिसाएर केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाण्डु महानगरपालिका–१७ सोह्रखुट्टे बस्ने २६ वर्षीय मोहमद फाजिल र दक्षिणकाली नगरपालिका–३ घर भई ललितपुर महानगरपालिका–१३ बस्ने २७ वर्षीय शालोम सादा लेप्चा जैसी रहेका छन् ।
इन्स्ट्राग्राममार्फत ‘स्वीट बेकरी–एनपी’ नामक एकाउन्ट बनाई गाँजा प्रयोग गरी केक र कुकिज बनाएर बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले संलग्न आरोपीलाई काठमाण्डुको सोह्रखुट्टेबाट पक्राउ गरेको छ ।
आरोपीहरूले ललितपुर महानगरपालिका–१३ एकान्तकुनामा घर भाडा लिई प्रयोग गर्दै आइरहेको कोठाबाट गाँजा १ किलो १०० ग्राम, डाँठ सहितको गाँजा १ किलो ५६८ ग्राम, केक १ किलो ९०० ग्राम, बटर ९०० ग्राम, कुकिज १ किलो ३२४ ग्राम, माइक्रो ओभन १ थान, डिजिटल तराजु १ थान, बेकिङ पाउडर, चक्लेटको फ्लेभर लगायतका विभिन्न सामग्री समेत प्रहरीले बरामद गरेको छ ।
आरोपीहरूले विगत १ वर्षदेखि गाँजा मिसावट गरिएका केक र कुकिजका विभिन्न प्रकारहरू बनाएर अनलाइन डेलिभरीमार्फत आफ्नो अवैध कारोबार सञ्चालन गरिरहेका प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । यसअघि गाँजा मिसावट गरी अवैध रूपमा केकको बिक्री गर्ने काठमाण्डु महानगरपालिका–२९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई सोही ब्यूरोबाट खटिएको प्रहरीले पुस २० गते पक्राउ गरेको थियो ।
मानन्धर गाँजाको धुलो, तयारी केकको झोल लगायतका सामानसहित पक्राउ परेपश्चात उनीहरूले पहिले कारोबार गर्दै आइरहेको पेजलाई परिवर्तन गरी कारोबार गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया