विदेश पठाउने प्रलोभनमा ३३ लाख ठगेर भारतमा लुकेका कन्सल्टेन्सी सञ्चालक पक्राउ

विदेश पठाउने प्रलोभनमा ३३ लाख ठगेर भारतमा लुकेका कन्सल्टेन्सी सञ्चालक पक्राउ


काठमाण्डु – अजरबैजान पठाइदिने प्रलोभनमा पारेर ३३ लाख ठगी गर्ने कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले मिराकल कन्सल्टेन्सी सञ्चालक बाराको कोल्वी नगरपालिका–४ बस्ने ३३ वर्षीय रामशरण शिवाकोटीलाई पक्राउ गरेको हो ।

कन्सल्टेन्सी सञ्चालक शिवाकोटीले युनिसा आले मगर समेतलाई वैदेशिक रोजगारीका लागि अजरबैजान पठाउन प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्ने र अजरबैजान पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लागेर मासिक २ लाख रुपैयाँ तलब हुने विश्वास दिलाई प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट ३३ लाख २ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

रकम लिइसकेपछि सम्पर्कविहीन भएका उनी भारतको दिल्लीमा लामो समयदेखि लुकिछिपी बसेको खुल्न आएकोमा खोजतलासका लागि खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गड्डाचौकीबाट पक्राउ गरेको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानबाट उनले फ्रान्स, स्पेन, युक्रेन जस्ता देशहरूमा पठाउने भनी धेरै व्यक्तिसँग रकम लिएको खुल्न आएकाले ठगीएका व्यक्तिहरूले वैदेशिक रोजगार विभाग ताहाचलमा सम्पर्क गरी आवश्यक कानूनी प्रक्रिया गर्न प्रहरीले सूचित गरेको छ ।