काठमाण्डु – मोटरसाइकल चोरीमा संलग्न २ जनालाई मंगलबार काठमाण्डु ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ घर भई हाल काठमाण्डुको भिमढुंगा बस्ने २४ वर्षीय सुरेश विश्वकर्मा र काभ्रेपलाञ्चोककै तेमाल गाउँपालिका–६ घर भई काठमाण्डुको बालुवाटार बस्दै आएका ३० वर्षीय जितेन्द्र तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बागमती प्रदेश ०२–०४१ प ०० ८६ नम्बरको मोटरसाइकल काठमाण्डुको टोखाबाट हराएको भनी काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन प्राप्त भएपछि प्रहरीले खोजेको थियो ।
वास्तविक नम्बर परिवर्तन गरी प्रदेश २–०३–००८ प ४२ ४८ नम्बर राखी चलाइरहेको अवस्थामा सुरेश विश्वकर्मालाई काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता ईकाइबाट खटिएको टोलीले फेला पारी काठमाण्डु महानगरपालिका–१६ पुरानो गंगाहल नजिकैबाट नियन्त्रणमा लिएको छ ।
अनुसन्धान गर्ने क्रममा मोटरसाइकल जितेन्द्र तामाङमार्फत विश्वकर्माले खरिद गरेको खुल्न आएपछि तामाङलाई समेत काठमाण्डुको थापाथलीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आएका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त महाराजगञ्ज पठाइएको जनाइएको छ ।
आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गरेका छन् ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए तापनि सवारीधनी स्वयं सजग हुनुपर्ने समेत प्रवक्ता भट्टले बताए ।
सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जनाइएको छ ।




प्रतिक्रिया