काठमाण्डु – राजधानी काठमाण्डुको चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध बुप्रेनुर्फिन १४५ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड १४५ एम्पुल र डाईजेपाम १४५ एम्पुलसहित सप्तरी घर भएका २६ वर्षीय ईन्द्रजित पासवानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरीले बा प्र ०३–००१ ख २५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
सप्तरीको तिलाठी कोईलाठी गाउँपालिका–१ भन्सार चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १७ ट्याब्लेटसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तिरहुत गाउँपालिका–५ लोहजरा बस्ने २१ वर्षीय विनोद मण्डल र २६ वर्षीय भोले मण्डल रहेका छन् ।
प्रहरी चौकी तिलाठीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
दाङको राप्ती गाउँपालिका–१ प्युठान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्रामसहित राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङ बस्ने २४ वर्षीय हेमन्त रोकालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया