अवैध लागूऔषधसहित ४ जना पक्राउ

अवैध लागूऔषधसहित ४ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका–९ जहरे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर ८५० मिलिग्रामसहित गुर्भाकोट नगरपालिका–१४ कृष्णनगर बस्ने २४ वर्षीय भक्त बहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट जहरेबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४५ ट्याब्लेटसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ब्यास नगरपालिका–५ दमौली बस्ने २२ वर्षीय शैलेस लामिछाने र २४ वर्षीय सुजन श्रेष्ठ रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग१०प ६९२४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

सुनसरीको कोशी गाउँपालिका–१ पुरी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन करीब ३ ग्राम ९१ मिलिग्रामसहित इनरूवा नगरपालिका–६ सखुवागाछी बस्ने २६ वर्षीय सुशान्त खनाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट लौकही बजारतर्फ पैदल आउँदै गरेका उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

बरामद लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।