काठमाण्डु – देशैभर लागूऔषध प्रयोगकर्ताको बिगबिगी रहेको पाइएको छ । प्रहरीले देशभरका ८ स्थानबाट १६ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–६ तिनुवा नहरबाट अवैध लागूऔषध गाँजा करीब २८ किलो ३०० ग्रामसहित धरान उपमहानगरपालिका–१६ बस्ने २० वर्षीय अर्जुन राई समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी राजगञ्ज सिनुवारीबाट खटिएको प्रहरी टोलीले को१ह २०५२ नम्बरको अटोलाई चेकजाँच गर्दा गाँजा फेला पारी अटो चालक राई र अटोमा सवार अन्य २ जनालाई पक्राउ गरेको छ ।
कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कस्थित डोटी बैतडी होटलबाट अवैध लागूऔषध खैरो हेरोइन ९४० मिलिग्रामसहित गोदावरी नगरपालिका–२ बस्ने ३० वर्षीय प्रमोद पनेरू समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले लागूपदार्थसहित पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–७ देवरियाबाट अवैध लागूऔषध ब्राउनसुगर ८९० मिलिग्रामसहित स्थानीय २२ वर्षीय सेरा भन्ने सुरेन्द्र रानालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
पाँचथरको फिदिम नगरपालिका–१ बरडाडाबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ७०० मिलिग्राम, ट्रामाडोल ४५ क्याप्सुल र स्पास्पेन ६ ट्याब्लेटसहित फिदिम नगरपालिका–१० घर भई फिदिम नगरपालिका–११ तृतीया बस्ने ३० वर्षीय हुसेन बहादुर कटुवाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–१० कोरिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर करीब ५ ग्राम ५० मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका–१० बस्ने ३२ वर्षीय फिरोज मुसलवान र २७ वर्षीय सलाउदिन गद्धी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय पिपरा कपिलबस्तुबाट खटिएको प्रहरी टोलीले लु७ प ६५४३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
चितवनको राप्ती नगरपालिका–२ गडौली बस्ने ३६ वर्षीय सूर्य बहादुर तामाङलाई अवैध लागूऔषध गाँजा करीब ४ किलोग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले उनको घरतलासी गर्दा गाँजा फेला पारी पक्राउ गरेको छ ।
झापाको अर्जुनधारा नगरपालिका–८ बाट अवैध लागूऔषध ब्राउनसुगर ३१० मिलिग्रामसहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका–१० ब्याड डाँडा घर बताउने २२ वर्षीय आकाश राजवंशी र अर्जुनधारा नगरपालिका–९ प्रणामी मन्दिर छेउ घर बताउने २५ वर्षीय विकास सहनी रहेका छन् ।
प्रहरी चौकी शनिश्चारेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५२ एम्पुल, फेनारगन ५२ एम्पुल, नुर्फिन ५२ एम्पुल र नाईट्राभेट ९०० ट्याब्लेटसहित सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर बस्ने २८ वर्षीय सुरज विकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी इनर्वा तथा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज पर्साबाट खटिएको संयुक्त टोलीले भारतको रक्सौलबाट वीरगञ्ज बजारतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
बरामद लागूऔषध सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया