काठमाण्डु – साउदी रियाल देखाई १४ लाख २१ हजार ५०० रुपैयाँ ठगी गरी फरार रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुलीको दुधौली नगरपालिका–१२ जिनाखु घर भएका ३५ वर्षीय दिपक तामाङ, ४९ वर्षीय टेक बहादुर घिसिङ र ३६ वर्षीय निर बहादुर तामाङ छन् ।
रामेछाप घर भई काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–५ हरियालीनगर बस्ने ५८ वर्षीया महिला समेतलाई साउदी रियाल देखाई फाईदा हुने प्रलोभनमा पारी सुनका विभिन्न गरगहना तथा नगद समेत गरी जम्मा १४ लाख २१ हजार ५०० रुपैयाँ बराबरको धनमाल ठगी गरी फरार रहेको अनुसन्धानको क्रममा खुल्न आएपछि काठमाण्डु उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुर र बौद्धको संयुक्त प्रहरी टोलीले काठमाण्डुको गोकर्णेश्वर नारायणटारबाट पक्राउ गरेको छ ।
उनीहरूबाट साउदी अरेबियाको रियाल १०० दरको २ थान, नेपाली रूपैयाँ १० दरको १०० थान, प्रदेश १–०५–००१ प ८०३७ नम्बरको मोटरसाइकल १ थान, बा४६प ९७७५ नम्बरको स्कुटर १ थान र मोबाइल ३ थान बरामद भएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त वौद्ध पठाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया