काठमाण्डु- अभियन्ताको नाममा ठगी गर्ने चार जना पक्राउ परेका छन् । आफूहरूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्दै गैरकानूनी संस्था खोलेर रकम असुली धन्दामा लागेका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-६ का ३१ वर्षका राजु सुनार, ८ का २६ वर्षीय आदर्श क्षेत्री, १ का २० वर्षीया अस्मिता खत्री र २ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ रहेका छन् । उनीहरुले आफूहरू ‘भ्रष्टाचारविरोधी अभियन्ता भएको बताउँदै गैरकानूनी संस्था खोलेर रकम असुली धन्दा गर्दै आएका थिए ।
साथै उनीहरुले सबै हिसाबकिताब देखाऊ भन्दै असम्बन्धित सूचना माग्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्काउने, मुद्दा हालदिन्छु भनी आतंक सृजना गरी भिडिओ बनाई रकम असुल्ने गरेका थिए । त्यसरी खिचिएका सामग्री उनीहरूले युट्युवलगायत सामाजिक सञ्जालमा राखी चरित्र हत्या गरेको भन्दै प्रहरी वृत्त बौद्दमा जाहेरीसमेत परेको थियो । जाहेरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु काठमाण्डुको गोकर्णेश्वर नगरपालिकामा ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान’ नामक संस्था खोलेर उनीहरू विभिन्न वडामा शाखा समेत विस्तार गरी सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, टोल सुधार एवं उपभोक्ता समितिमा अनुसन्धान गर्न भन्दै जाने गरेका थिए ।




प्रतिक्रिया