काठमाण्डु – भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित डिल्लीबहादुर राउतको घरमा भएको डाँका चोरी तथा लुटपाटमा संलग्न भएर फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाण्डुको गोकर्णेश्वर बस्ने सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएका ३० वर्षीय सुजन रसाईली तथा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भएका ३१ वर्षीय भी बहादुर तामाङ, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ घर भई ललितपुरको इमाडोल बस्ने ३६ वर्षीय मुनाराज राई र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भई काठमाण्डुको महाराजगञ्ज बस्ने ३८ वर्षीय कृष्णबहादुर बोहोरा छन् ।
राउतको घरबाट असार ४ गते करीब २ करोड रूपैयाँ चोरी तथा लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता देखिएपछि काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको छ ।
राउतका मामा कुलबहादुर खत्रीले आफ्नो चिनजानका सुजन रसाईलीलाई राउतको घर रेक्की गर्न लगाई लुटपाट गर्ने योजनासहित रसाइली समेत ४ जना राउतको घरमा गई ‘सीआईबीको प्रहरी हौं’ भन्दै प्रहरीको परिचयपत्र र खुकुरी देखाई रकम लुटेर भीमबहादुरको घर कोठामा गएर ५ जनाले बाँडफाँट गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरूबाट प्रहरीले नगद ३६ लाख ३६ हजार रूपैयाँ, घटनामा प्रयोग भएको बा प्र ०२–०४० प ५५३८ र बा प्र ०२–०३३ प ६१७४ नम्बरको मोटरसाइकल, मोबाइल १० थान, रकम बोक्न प्रयोग गरेको झोला २ थान, डाँका चोरी तथा लुटपाट गर्दा लगाएको कपडाहरू तथा जुत्ता ३ जोर र खुकुरी १ थान समेत बरामद गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।




प्रतिक्रिया