मोरङ – जिल्लाको सुन्दरहरैंचा नगरपालिका–९ बस्ने ४९ वर्षीय सहदेव बजगाईको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–४ हाटखोला घर भएका ३६ वर्षीय छिरिङ भन्ने सुनिल तामाङ र उनकै श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटी छन् ।
सुन्दरहरैंचा नगरपालिका–१ कुमारगाउँस्थित आफ्नै कुखुरा फर्ममा सहदेव बिहीबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले फर्ममा काम गर्ने सुनिल र उनकै श्रीमतीलाई पक्राउ गरेको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा बुधबार राति फर्म सञ्चालक र सुनिलबीच पारिश्रमिकको विषयमा भएको विवादका कारण उनीहरूले बन्चरो र फलामको दाउ प्रहार गरी सहदेवको हत्या गरेको खुल्न आएको छ ।
उनीहरूउपर कर्तव्य ज्यान मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया