काठमाण्डु – घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ बस्ने २६ वर्षीय धर्म तामाङ र ३९ वर्षीय माईला लामा पाख्रिन भन्ने टिकाराम तामाङ रहेका छन् ।
पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले धर्मलाई लम्जुङ मर्स्याङदी गाउँपालिका–३ बाट बिहीबार र टिकारामलाई कास्कीको पोखरा महानगरपालिका–१६ लामाचौरबाट शुक्रबार पक्राउ गरेको छ ।
उनीहरूले पीडितलाई फ्री भिसा फ्री टिकटमा कुवेतमा मासिक १२० केडी कमाई हुने घरेलु काममा लगाइदिने प्रलोभनमा पारी २०८० साउन ४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुबई पुर्याई, दुबईबाट कुवेतको अलजारा भन्ने ठाउँमा पुर्याई कुवेती घर मालिकलाई ९०० केडीमा बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरूउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाण्डुबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया