काठमाण्डु – देशका विभिन्न स्थानबाट प्रहरीले करीब २३२ किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।
चितवनको राप्ती नगरपालिका–४ डडुवाबाट अवैध लागूऔषध गाँजा करीब २३० किलोग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङको थाक्रे गाउँपालिका–१० बस्ने ३० वर्षीय दिनेश डंगोल र ३१ वर्षीय सुनिल डंगोल रहेका छन् । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले धादिङबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ४३३७ नम्बरको ट्रकलाई जाँच गर्दा ट्रकभित्र त्रिपालमुनि २० वटा पोकामा लुकाइछिपाई राखिएको गाँजा फेला पारी ट्रक चालक दिनेश र ट्रकमा सवार सुनिललाई पक्राउ गरेको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजा करीब २ किलो ४५० ग्रामसहित भारतको पश्चिम चम्पारण बेतिया थाना–३९ हरिमटका बस्ने १८ वर्षीय किशोरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई गाँजासहित पक्राउ गरेको छ ।
गाँजा बरामद सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया