अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीबाट अवैध लागूऔषध गाँजा करीब १ किलो ३०० ग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–८ गोठाटार घर भएका २४ वर्षीय सौगात दाहाल र मुगु खप्तड गाउँपालिका–४ घर भई कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने २४ वर्षीय कविराज शाही रहेका छन् ।

अस्थायी प्रहरी बिट गागलफेदीबाट खटिएको प्रहरीले बा.प्र–०२–०४४ प ५८५२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई गाँजासहित पक्राउ गरिएको छ ।

यसैगरी, काठमाण्डुको नागार्जुन नगरपालिका–५ छकडोल बस्ने शिव पुतुवारलाई अवैध लागूऔषध गाँजा करीब २ किलो ८०० ग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट हलचोकबाट खटिएको प्रहरी टोलीले उनको टहराबाट गाँजा फेला पारी पक्राउ गरेको छ ।

यसैगरी, काठमाण्डुको चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट अवैध लागूऔषध गाँजा ४ किलो ३०० ग्रामसहित धादिङको थाक्रे गाउँपालिका–३ बस्ने ४२ वर्षीय मंगले तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरी टोलीले धादिङबाट काठमाण्डुतर्फ आउँदै गरेको बा३ख ८५२३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई गाँजासहित पक्राउ गरेको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर करीब १५० ग्रामसहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका– २२ बस्ने ६१ वर्षीय राजेन्द्र कुमार गोडिया, ३२ वर्षीय यमुजिव खान र २६ वर्षीय मोहिद अन्सारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

पाल्पाको रामपुर नगरपालिका–७ कठान बस्ने ५१ वर्षीय कपिल रिजाललाई अवैध लागूऔषध गाँजा करीब ९१६ ग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले उनको कोठा तलासी गर्दा गाँजा फेला पारी पक्राउ गरेको छ । थप अनुसन्धानको क्रममा रामपुर नगरपालिका–४ सदावर्त बस्ने ६३ वर्षीया गीता लम्सालको घर तलासी गर्दा करीब ८९० ग्राम गाँजा फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–८ हर्दियाबाट अवैध लागूऔषध खैरो हेरोइन ५ ग्राम ६९० मिलिग्रामसहित कमलामाई नगरपालिका–४ सन्तोष भन्ने यमबहादुर खत्रीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले बर्दिबासबाट सिन्धुलीतर्फ आउँदै गरेको बा२ख ७०७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ । प्रहरीले शंकास्पद १ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम २०० मिलिग्रामसहित सुन्दरहरैंचा नगरपालिका–९ सलकपुर बस्ने २४ वर्षीय अभिषेक बस्नेतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०२–०४२ प १११० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक अभिषेकलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

लागूपदार्थ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।