काठमाण्डु – नेपाल प्रहरीका विशिष्ट व्यक्तिको नाम र दर्जा दुरूपयोग गरी साइबर ब्यूरोको फेक इमेल समेत बनाएर ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका–७ घर भएका २० वर्षीय मनिष कुमार मेहता र देवानगञ्ज गाउँपालिका–१ घर भएका २१ वर्षीय ईन्द्रजित यादव रहेका छन् ।
नेपाल प्रहरीका विशिष्ट व्यक्तिहरूको नाम, दर्जा तथा कार्यालयको लोगो दुरूपयोग गरी साइबर ब्यूरोको फेक इमेल समेत बनाएर इमेलमार्फत पीडितलाई डरत्रासमा पारी रकम माग गरी ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा पक्राउ गरेको छ ।
आरोपीहरूउपर विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसूरमा काठमाण्डु जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया