सट्टाबाजीमा संलग्न २३ भारतीयलाई पक्राउ गरी सार्वजनिक

सट्टाबाजीमा संलग्न २३ भारतीयलाई पक्राउ गरी सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला प्रहरी परिसर काठमाण्डुले सट्टाबाजीमा संलग्न २३ भारतीय नागरिकलाई मंगलबार सार्वजनिक गरेको छ ।

काठमाण्डुको बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँस्थित दोर्जे शेर्पाका घरमा अनलाइन जुवा खेलाइरहेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले ८१ हजार, ८८ थान मोबाइल, ल्यापटप, भारतीय सीम र आधार कार्ड, एटीएम, सिमकार्ड लयायत कारोबारको हिसाब राखिएको नोटबूक समेत बरामद गरेको थियो । पक्राउ गरिएकाहरूलाई सट्टेबाजी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाण्डुबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाण्डुका वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले करीब ३ अर्बको अनलाइन जुवा खेलाएको हालसम्मको अनुसन्धानबाट खुलेको जानकारी दिए ।

उनले शान्ति सुरक्षा, अपराध अनुसन्धान, यातायात व्यवस्थापन र मानव बेचबिखन नियन्त्रण लगायतका विषयलाई उच्च प्राथमिकतामा राखेर संगठनले काम गरिरहेको बताए ।

परिसरलाई विनियोजित बजेटको ८० प्रतिशतभन्दा बढी साधनस्रोत र जनशक्ति शान्ति सुव्यवस्थाका लागि खर्च भइरहेको जानकारी दिँदै अधिकारीले शान्ति सुरक्षा र न्यायिक कार्य सम्पादनलाई उच्च प्राथमिकतामा राखिएको बताए । ‘सेवा प्रवाहलाई सहज र गुणस्तरीय बनाउने प्रयास भइरहेको छ, राज्यले अघि सारेको विकास र खुसी प्राप्त गर्ने अभियानमा शान्ति सुरक्षा नै पहिलो शर्त हो भन्ने मान्यतालाई आत्मसात गरेका छौं,’ वरिष्ठ प्रहरी उपरीक्षक अधिकारीले भने ।

परिसर मातहत करीब ४ हजार जनशक्ति रहेका र जनशक्तिले १ हजार १०० भन्दा बढी विषयमा नागरिकलाई सहयोग पुर्‍याइरहेको उनले जानकारी दिए ।