काठमाण्डु – अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा भारतको बिहार राज्य पटना मलवा थाना मलाम ठेगाना भएका ३० वर्षीय अजय कुमार समेत २४ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बेटिङ एप्लिकेसनमार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमहरूअन्तर्गत बेटिङ साइटको प्रयोग गरी अनलाइन जुवा खेल्ने र खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बुढानिलकण्ठ नगरपालिका–५ स्थित घर भाडामा लिई आरोपीहरूलाई पक्राउ गरेको हो ।
आरोपीहरूको साथबाट ल्यापटप २१ थान, मोबाइल ३८ थान र राउटर ३ थान प्रहरीले बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रूपैयाँ बराबरको अनलाइन जुवा कारोबार भएको बताइएको छ ।
आरोपीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ बमोजिमका कसूरमा समेत आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डु भद्रकाली पठाइएको छ ।




प्रतिक्रिया