देशैभर फैलिँदै अवैध लागूऔषधको कारोबार, विभिन्न स्थानबाट २२ जना पक्राउ

देशैभर फैलिँदै अवैध लागूऔषधको कारोबार, विभिन्न स्थानबाट २२ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अवैध लागूऔषधको कारोबार देशैभर फैलिँदै गएको पाइएको छ । प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डु महानगरपालिका–९ पिङ्गला स्थान चोक नजिक शिवदर्सन होटलबाट अवैध लागूऔषध गाँजा करीब ९९६ ग्राम, नियन्त्रित लागूऔषध ट्रामोल १० ट्याब्लेट, नगद ३५ हजार ४५० रूपैयाँ र मोबाइल २ थानसहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सुनसरी घर भएका २१ वर्षीय सुरज राई, काठमाण्डु एयरपोर्ट बस्ने सिन्धुपाल्चोक घर भएका २१ वर्षीय विशाल थापा र कास्की घर भएका १६ वर्षीय किशोर रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले होटल तलासी गर्दा लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ बाईपास रोड नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९२० मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट छेडागाड नगरपालिका–१० बस्ने २३ वर्षीय पारस बुढामगर र दैलेख महाबु गाउँपालिका–२ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट बसपार्क बाँकेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ बाईपास रोड धौलाकोटी होटल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर ४६० मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ बस्ने १९ वर्षीय असिम रावत र पञ्चपुरी नगरपालिका–६ बस्ने २० वर्षीय आकाश खड्का छन् ।

अस्थायी प्रहरी पोष्ट बसपार्क बाँकेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

झापाको कनकाई नगरपालिका–४ मनकामना टोलबाट अवैध लागूऔषध गाँजा ८ किलो ४० ग्रामसहित सोही ठाउँ बस्ने ३३ वर्षीय ईन्द्र चौधरी र उनकै श्रीमती ३२ वर्षीया ममता चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गाँजासहित पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ७९० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–८ बस्ने २३ वर्षीय कुबिर राई र सोही उपमहानगरपालिका–१५ बस्ने २१ वर्षीय समिर राई रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को२३प ४१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई लागूपदार्थसहित फेला पारी पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ८४० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

बर्दियाको बाँसगढी नगरपालिका–१ चेपाङ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर २५० मिलिग्रामसहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेतको गुर्भाकोट नगरपालिका–९ दमार बस्ने २० वर्षीय गणेश वादी, २४ वर्षीय दिलिप वादी र २५ वर्षीय धुर्व वादी रहेका छन् । प्रहरीले उनीहरूलाई लागूपदार्थसहित फेला पारी पक्राउ गरेको छ ।

कञ्चनपुरको लालझाडी गाउँपालिका–३ बल्मी बस्ने २२ वर्षीय मिलन राना र सोही गाउँपालिका–२ कञ्ज बस्ने २७ वर्षीय पुरन रानालाई अवैध लागूऔषध खैरो हेरोइन ८६० मिलिग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनगाउँ चोकबाट अवैध लागूऔषध खैरो हेरोइन १४० मिलिग्रामसहित ऐठपुर बस्ने २० वर्षीय दिवस चन्दलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा लागूऔषध भीमदत्त नगरपालिका–१८ बागवाणी बस्ने नरेश बमबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात नरेशको घर तलासी गर्दा १ ग्राम ३९ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन फेला पारी नरेश र उनकै श्रीमती हिरा बमलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–१३ जिरो प्वाइन्टबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम २२० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय धने राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले भानुचोकबाट जिरोप्वाईन्टतर्फ पैदल जाँदै गरेका उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।