काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाण्डुको टोखा नगरपालिका–५ बस्ने सल्यानको कपुरकोट गाउँपालिका–५ घर भएका ३६ वर्षीय टोपेन्द्र राना मगर, काठमाण्डु महानगरपालिका–६ बस्ने सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–५ घर भएका ३९ वर्षीय ङिमा शेर्पा र काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–५ बस्ने काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ घर भएका ४० वर्षीय शिवराम घिमिरे छन् ।
पक्राउ परेकामध्ये टोपेन्द्रले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४२ लाख ३० हजार रूपैयाँ, ङिमाले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख २० हजार रूपैयाँ र शिवरामले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले टोपेन्द्रलाई काठमाण्डुको टोखा नगरपालिका–५ बाट, ङिमालाई काठमाण्डु महानगरपालिका–४ बाट र शिवरामलाई काठमाण्डु महानगरपालिका–३१ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।




प्रतिक्रिया