काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गर्न खोज्ने युवा पक्राउ परेका छन् ।
शनिबार नुवाकोटको सूर्यगढी गाउँपालिका–३ चोकदेस्थित बागेश्वरी माविको हिरक जयन्ती समारोहमा प्रचण्डसँग प्रश्न गर्न खोज्दा सुर्यगढी गाउँपालिका–२ बोहोरेका जनार्दन अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
अध्यक्ष प्रचण्डले कार्यक्रममा मन्तव्य राखिरहेको बेलामा नजिकै बसिरहेका उनले बीचमा उठेर ‘मेरो तपाईंसँग एउटा प्रश्न छ भनेका थिए । त्यसपछि प्रचण्डले जवाफ दिए, ‘यो समय सवालजवाफ गर्ने होइन । तपाईं अघि तल (विदुर) भएको पत्रकार सम्मेलनमा आउनुभएन, प्रश्न त त्यहीँ सोध्न पाइन्थ्यो नि !’
प्रचण्डले यति भनेपछि उनका पीएसओले युवकलाई बाहिर जान निर्देशन दिए र केही प्रहरी आएर उनलाई पक्राउ गरेर लगेका थिए ।
उनलाई त्यहाँबाट पर पुर्याउँदा युवकमाथि अन्य व्यक्तिले हातपात पनि गरेका छन् ।
प्रहरीले पक्राउ गरेका युवक जनार्दन अधिकारीको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।




प्रतिक्रिया