काठमाण्डु – मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई काठमाण्डु उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बागमती प्रदेश ०२–०५५ प ४० ६८ नम्बरको मोटरसाइकलसहित धादिङको गजुरी गाउँपालिका–७ घर भई हाल काठमाण्डुको पशुपती बस्ने २२ वर्षीय सन्तोष कोइराला र २७ वर्षीय सजिर श्रेष्ठलाई काठमाण्डुको पशुपती मन्दिर नजिकैबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोटरसाइकल काठमाण्डुको बालाजुबाट हराएको भनि गोरखाका सुरज तामाङले काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजुमा पठाइएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
यस्तै, काठमाण्डुकै गोकर्णेश्वर नगरपालिका–६ बेशीगाउँबाट पनि बागमती प्रदेश ०२–०२२ प ३४ ४८ नम्बरको मोटरसाइकलसहित काभ्रेपलाञ्चोक घर भई काठमाण्डुको जोरपाटी बस्दै आएका ३७ वर्षीय देवराज योञ्जनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोटरसाइकल भने काठमाण्डुको बुढानिलकण्ठबाट हराएको भनि सोलुखुम्बु घर भई हाल काठमाण्डुको चाबहिल बस्ने काजी शेर्पाले काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
नियन्त्रणमा आएका योञ्जनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रवक्ता गिरीले बताए ।
आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले सम्पूर्णमा अनुरोध गरेका छन् । हराएका सवारीसाधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयं सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिएको छ ।
सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारीसाधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जनाइएको छ ।




प्रतिक्रिया