काठमाण्डु – धनुषा र सप्तरीमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित सडकमा मधेश प्रदेश ०२–००१ क २२४० नम्बको टिपरले ज८प ७७४३ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार क्षिरेश्वरनाथ नगरपालिका–१० बस्ने ८० वर्षीय चलितर मण्डलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि काब्या अस्पताल जनकपुर पठाइएको छ । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिका–२ महादेवपट्टीस्थित सडकमा वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको को१ख ५४३८ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने रोजित शेखको छोरा ८ वर्षीय आयन शेखको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया