काठमाण्डु – सोमबार साँझ काठमाण्डु महानगरपालिका–३१ बानेश्वरस्थित बाशुकी मार्गबाट सशस्त्र प्रहरी बलले ब्राउन सुगरसहित २ युवकलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स ब्यूरोले धनकुटा जिल्लाको पाख्रीवास नगरपालिक–५ बस्ने ३१ वर्षका डिल्लीबहादुर कटुवाल र झापा जिल्लाको भद्रपुर नगरपालिका–२ बस्ने ३० बर्षका शैलेश थापा मगरलाई लागूऔषध ब्राउनसुगर अन्दाजी ३०.१५ ग्राम, गाँजा ३ पोका, ब्राउन सुगर जोख्न प्रयोग भएको तराजु १ थान, मोबाइल ४ थान, १२ हजार ४५० रुपैयाँ नगद तथा मोटरसाइकलसहित सोमबार साँझ नियन्त्रणमा लिएको हो ।
बाशुकी मार्गको एक घरबाट उल्लेखित लागूपदार्थ बिक्रीवितरण गर्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूले लागूपदार्थ सिरहाको गोलबजारबाट ल्याई बिक्री गर्ने गरेको बुझिएको छ ।
नियन्त्रणमा लिइएकाहरूलाई बरामद सामानसहित थप कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।




प्रतिक्रिया