काठमाण्डु – वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने ३ जनालाई काठमाण्डु उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको आश्वासन दिई विभिन्न देशमा पठाइदिन्छु भन्दै लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्कविहीन बनेपछि पीडितहरूले दिएको जाहेरीका आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले आरोपीहरूलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४८ वर्षीया गीता माया मगर, ४६ वर्षीय सन्दीप मगर (बमबहादुर मगर) र ४५ वर्षीय बिन्देश्वर राय यादव रहेका छन् । रोमानिया पठाइदिन्छु भनी २० लाख २४ हजार रुपैयाँ ठगी गरेको अभियोगमा गीता र सन्दीपलाई क्रमश: बिहीबार र बुधबार पक्राउ गरिएको छ । उनीहरू ओखलढुंगा र काठमाण्डुमा बसोबास गर्दै आएका थिए ।
त्यसैगरी रौतहट स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५ मा बसोबास गर्दै आएका बिन्देश्वर राय यादवलाई बिहीबार काठमाण्डु महानगरपालिका–३२ बाट पक्राउ गरिएको छ । उनले मौरिसस पठाइदिन्छु भनी १ जनाबाट ३ लाख ६० हजार रुपैयाँ ठगी गरेको अनुसन्धानमा खुलेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डुमा बुझाइएको छ ।




प्रतिक्रिया