काठमाण्डु – हेल्थ असिस्टेन्ट (एचए) पढ्न छात्रवृत्ति दिलाउने प्रलोभनमा ठगी गरेको आरोपमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले १ युवकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार भोजपुर जिल्ला टेम्केमैयुन गाउँपालिका–९ स्थायी घर भई हाल काठमाण्डु महानगरपालिका–७ चाबहिल गोपीकृष्ण हल नजिक बस्दै आएका २७ वर्षीय सन्जिव राईलाई पक्राउ गरेको छ ।
उनीमाथि नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान (एनएआईएचएस) मा हेल्थ असिस्टेन्ट (एचए) विषयमा पूर्ण छात्रवृत्तिमा नाम निकाली दिने विश्वास दिलाई पीडितसँग १ लाख ८५ हजार रुपैयाँ असुली गरेर सम्पर्कविहीन बनेको अभियोग छ ।
पीडितले दिएको जाहेरीका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई २०८२ भदौ ३ गते नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाण्डु जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरू पनि हुन सक्ने आशंका रहेको र थप अनुसन्धान जारी रहेको जनाएको छ ।




प्रतिक्रिया