वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने ४ जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने ४ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बेरोजगार युवायुवतीलाई आकर्षक तलब र वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै लामो समयसम्म झुक्यानमा राखी अन्तत: विदेश नपठाई सम्पर्कविहीन बनेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितहरूले दिएको जाहेरी दरखास्तका आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामध्ये २ जनालाई काठमाण्डु महानगरपालिकाका विभिन्न स्थानबाट १ जनालाई काभ्रेपलाञ्चोक र अर्काे १ जनालाई बुढानिलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा प्युठान नगरपालिका–८ का ३९ वर्षीय शान्तबहादुर विक, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ का २६ वर्षीय प्रल्हाद खत्री, सिराहाको कर्जन्हा नगरपालिका–८ का ४४ वर्षीय महमद हातीम र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ की ४६ वर्षीय तारा बस्नेत तामाङ रहेका छन् ।

प्रारम्भिक अनुसन्धानमा उनीहरूले वैदेशिक रोजगारीका नाममा विभिन्न व्यक्तिहरुसँग ठगी गरी रकम असुलेको पाइएको छ । शान्तबहादुर विकले क्यानडा पठाइदिने बहानामा १ जनासँग ६ लाख रुपैयाँ, प्रल्हाद खत्रीले कतार पठाइदिने भन्दै ३ जनासँग ७ लाख रुपैयाँ, महमद हातीमले कतार पठाइदिने भन्दै ३ लाख रुपैयाँ र तारा बस्नेत तामाङले दक्षिण अफ्रिका पठाइदिने भन्दै १ जनासँग ५ लाख १७ हजार रुपैयाँ असुलेको खुलेको छ ।

उनीहरूलाई क्रमश: २०८२ भदौ ४ र ५ गते पक्राउ गरी आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।