काभ्रेपलाञ्चोक- जिल्ला प्रहरी कार्यालय काभ्रेले १२ वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ गरेको छ । अदालतद्वारा विभिन्न मितिमा फैसला भई कैद सजाय तथा जरिवाना तोकिएका ती प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत धुलिखेलमा पठाइएको कार्यालयले जनाएको छ ।
जबर्जस्ती करणी मुद्दामा पाँच वर्ष कैद फैसला सुनाइएका रोशी गाउँपालिका ४ का ३९ वर्षीय होमबहादुर कार्कीलाई सोमबार पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले बताए । उनका अनुसार कार्की १२ वर्षदेखि लुकीछिपी फरारको अवस्थामा रहँदै आएका थिए ।
यस्तै अदालतद्वारा लेनदेन कारोबारमा दुई वर्ष कैद तथा १५ लाख जरिवाना तोकिएका फरार ६२ वर्षीय शालिकराम सापकोटा र २७ वर्षका फरार रमेश श्रेष्ठलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धुलिखेलमा पठाइएको विष्टले जानकारी दिए ।
त्यसैगरी, प्रहरीले नमोबुद्ध नपा ४ स्थित बिपी राजमार्ग क्षेत्रमा लागुपदार्थ सेवन गर्ने सिराहाको गोलबजार नपा २ का दुई युवालाई सोमबार पक्राउ गरेको छ । उनीहरूलाई लागुपदार्थ सेवन मुद्दामा १५ दिनको म्याद थपगरी हिरासतमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया