काठमाण्डु- राजावादीको शुक्रबार भएको प्रदर्शन पछि सामाजिक सञ्जालमा चलेको ‘अरेस्टज्ञानेन्द्र’ ह्यासट्याग पछि ‘अरेस्टप्रचण्ड’ ह्यासट्याग पनि सुरु भएको छ ।
शुक्रबार तीनकुनेमा भएको प्रदर्शन उग्र बनेपछि दुई जनाको मृत्यु भएको घटनाले सामाजिक सञ्जाल तातेको छ । यो घटनाको दोष पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लगाउँदै उनलाई पक्राउ गर्नुपर्ने माग सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘अरेस्टज्ञानेन्द्र’ ह्यासट्याग अभियान चलाएका छन् ।
यो ट्रेन्डमा ठूला राजनीतिक दल र नागरिक समाजका अगुवाहरू पनि सक्रिय छन् । उनीहरूले पनि शुक्रबारको अराजकताका लागि पूर्वराजालाई जिम्मेवार ठह¥याएर कानुनी दायरामा ल्याउनुपर्ने बताइरहेका छन् ।
यता, पूर्वराजाका समर्थकले भने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालमाथि आरोप लगाउँदै ‘अरेस्टप्रचण्ड’ ह्यासट्याग अभियान चलाएका छन् ।
केही वर्षअघि दाहालले माओवादी जनयुद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएको प्रसंग कोट्याउँदै समर्थकहरूले सामाजिक सञ्जालमा ‘अरेस्टप्रचण्ड’ ह्यासट्याग चलाएर उनलाई पक्राउ गर्नुपर्ने माग गरेका छन् ।
यो घटनाले दुवै पक्षका समर्थकबीच तीव्र बहस छेडिएको छ । एकातिर पूर्वराजालाई प्रदर्शनको मुख्य योजनाकार मानिएको छ भने अर्कोतिर दाहालको विगतका अभिव्यक्तिलाई लिएर उनलाई पनि कारबाहीको माग उठेको छ ।
उनीहरूले प्रचण्डले ‘धेरैको हत्याको जिम्मेवार लिन्छु’ भनेको उदाहरण दिएर यस्तो अभियान चलाएका हुन । यी दुवै अभियान अहिले सामाजिक सञ्जाल खास गरी एक्समा भाइरल छन् ।




प्रतिक्रिया